
गोरखा । स्वीटजरल्याण्डकी नागरिक २६ बर्षकी लरिसा जिमरमन साइकल यात्रा गर्दै नेपाल आइपुगेकी छन् । ६ महिनाअघि साइकल यात्रा शुरु गरेकी उनी स्वीटजरल्याण्डबाट विभिन्न १२ देश हुँदै नेपाल आइपुगेकी हुन् । शनिबार उनी गोरखा सदरमुकाम आइपुगेकी छन् ।
इटाली, स्लोभेनिया, क्रोएसिया, मन्टेनेग्रो, अल्वेनिया, म्यासेडोनिया, बलगेरिया, टर्की, जर्जिया, स्पेगिस्थान, किर्गिस्तान हुँदै उनी नेपाल आइपुगेकी हुन् । ‘सँगै यात्रा गरेको साथी टर्कीबाट फर्कियो,’ उनले भनिन्, ‘त्यसपछि म एक्लै यात्रा गरेर नेपालसम्म आइपुगे ।’
नाका बन्द भएका कारण भारत र चीन जान नपाएकी उनले कीर्गिस्तानबाट विमानमार्फत नेपाल आएको बताइन् । हालसम्म कुल ६ हजार ४५० किलोमिटर साइकल यात्रा गरेको उनले जानकारी दिइन् ।
गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको बाल गृह (हाम्रो सहारा फाउण्डेशन नेपाल) मा रहेका अनाथ तथा विपन्न परिवारका बालबालिकालाई उनी आवद्ध संस्थाले आर्थिक सहयोग गर्दै आएको छ । बाल गृहमा हाल ९ जना बालबालिका छन् । सोही बालबालिकाको सहयोगार्थ रकम संकलनका लागि पनि साइकल यात्रा गरेको उनी बताउँछिन् ।
‘एक त बालबालिकाहरुको सहयोगका लागि डोनेसन संकलन गर्न पनि हो, अर्काे म बर्षको एक पटक नेपाल आउने गर्छु, यसपटक साइकल यात्रा गरेर आउन रहर पनि भयो,’ उनले भनिन् ।
टर्की आइपुग्दा साइकलबाट लडेर उनी घाइते समेत भएकी थिइन् । कुकुरका कारण दुर्घटनामा परेको बताउदै उनले भनिन्, ‘कुकुरले लखेटेपछि म लडेँ, बाँया हातमा दश टाका लगाउनुप¥यो ।’ यात्रामा उतारचढाव धेरै आएपनि समग्रमा रमाइलो भएको उनको अनुभव छ । यात्राको क्रममा विभिन्न ठाउँको संस्कृति र रितिरिवाज बुझ्ने मौका समेत पाएको उनको भनाइ छ ।