काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका–१०, मीनभवनस्थित एन.के. सिंह मेमोरियल इङ्ग्लिस प्रिपरेटरी सेकेन्डरी स्कुल (EPS) मा कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ‘क्यान्सर सचेतना’ तथा ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडरियाको पहलमा आयोजित कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थी तथा शिक्षकको उत्साहजनक सहभागिता रहेको थियो।
सार्वजनिक स्वास्थ्य र पर्यटनजस्ता राष्ट्रिय महत्वका विषयमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले आयोजित कार्यक्रममा प्रस्तुतीकरण, शैक्षिक भिडियो प्रदर्शन तथा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमार्फत व्यवहारिक जानकारी प्रदान गरिएको थियो। क्यान्सर विशेषज्ञ डा. किशोर कुमार प्रधानाङ्ग र डा. आज्ञा प्रधानाङ्गले क्यान्सरका प्रारम्भिक लक्षण, रोगबाट बच्ने उपाय, स्वस्थ जीवनशैली, सुर्तीजन्य पदार्थको सेवनबाट हुने जोखिम, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता तथा क्यान्सरसँग सम्बन्धित भ्रम र यथार्थबारे विस्तृत जानकारी दिनुभयो। उहाँहरूले नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाए धेरै प्रकारका क्यान्सरबाट बच्न सकिने सन्देश पनि दिनुभयो।
त्यसैगरी गुरु ट्राभल्स लिमिटेडका सेल्स हेड सुमन राज काफ्लेले नेपालको पर्यटन क्षेत्रको महत्व, आन्तरिक पर्यटन प्रवर्द्धन, दिगो तथा जिम्मेवार पर्यटन, पर्यटन क्षेत्रमा रहेका करियरका अवसर, नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा प्रत्येक नागरिकको भूमिकाबारे प्रेरणादायी प्रस्तुति दिनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नै देशका पर्यटकीय गन्तव्यहरूको पहिचान, सम्मान र संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै पर्यटन विकासमा युवाको सहभागिता आवश्यक रहेको बताउनुभयो।
विद्यालयकी प्रधानाध्यापक प्रमिला सिंहले यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तिगत विकास, सामाजिक उत्तरदायित्व र भविष्यप्रतिको सकारात्मक सोच निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले यस कार्यक्रमबाट विद्यार्थीमा स्वास्थ्यप्रति सचेतना बढ्नुका साथै जिम्मेवार पर्यटनको अवधारणा पनि प्रभावकारी रूपमा प्रवर्द्धन भएको विश्वास व्यक्त गरेका छन्। साथै यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा देशका विभिन्न विद्यालय तथा समुदायमा समेत विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।


