
काठमाडौं गौचरबाट उडेको यती एयरलायन्सको एटीआर–७२ टर्बोप्रोप विमान उत्तरी भेगका हिमशृंखला नजिकै फन्को लाउँदै एक घण्टामै काठमाडौं फर्किने तरखरमा छ ।
आइतबार बिहान ४४ यात्रु बोकेर त्यो माउन्टेन फ्लाइट उडेको थियो । जहाजको अन्तिम लहरको दोस्रो सिटमा एक्लै बसेका एक यात्रुले अरू सहयात्रीको ध्यान खिचिरहेका थिए । गाढा नीलो क्याप, इटालियन रेबान चस्मा, अर्मानीको कालो टिसर्ट र जिन्स पाइन्टमा मास्कले अनुहार छोपेर बसेका उनी थिए– पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ।१२ वर्षअघि पाकिस्तानले जितेको ट्वान्टी–ट्वान्टी विश्वकपका मुख्य खेलाडी अफ्रिदी अघिल्लो दिन शनिबार कीर्तिपुर खेल मैदानमा थुप्रै नेपाली फ्यानमाझ प्रस्तुत भएका थिए ।
सन्दीप लामिछाने कप्तान रहेको टिम काठमाडौं किंग्स इलेभेनबाट पहिलो खेल खेलेर उनी चौथो दिनको नेपाल बसाइका क्रममा बिहानै विश्वकै अग्लो शिखर सगरमाथालगायतका चुचुरा नजिकैबाट हेर्न जहाज चढेका थिए ।
क्रिकेटिङ वर्ल्डमा ‘बुमबुम–अफ्रिदी’ उपनामले कहलिएका उनी आफ्नै देशको (विश्वकै दोस्रो अग्लो) हिमचुचुरो केटूनजिक जाने मौका नजुरेको बताउँदै थिए । हातमा थियो, ‘एक्सपिरियन्स–एभरेस्ट’ लेखिएको नेपालको नक्साजस्तै एकपाने लामो गाइड– पश्चिम नेपालको धौलागिरिदेखि पूर्वी नेपालको सीमामा पर्ने कंचनजंघासम्मका २४ हिमालका तस्बिर भएको ।
अनि, तिनका उचाइसहितका नामावली ।जब काठमाडौंलाई एक फन्को लगाई लाङटाङ लि–रुङ हुँदै जहाज रोलवालिङ क्षेत्रको गौरीशंकर नजिकै पुग्यो, अफ्रिदीले सोधे, ‘त्यो कुन हिमाल हो ?’ ढोकैछेउकी एयरहोस्टेस सुदीक्षा प्याकुरेलले बादलमाथि उठेको सेतो हिमाल चिनाउन उनको काननजिकै मुख पुर्याउँदै बताइदिइन्– ‘गौरीशंकर ।’ ‘वाउ π’ यति मात्रै भनेर उनले जिन्सको गोजीबाट आइफोन झिके र छोटो भिडियो खिचे । एभरेस्ट प्रिमियर लिग खेल्न पहिलोपटक नेपाल आएका उनी सगरमाथा कति बेला देखिएला भनी बेलाबेला चस्मा तल तान्दै बाहिर चियाउँथे त कुनैबेला छेउको खाली सिटमा राखिएको गाइड हेर्थे । नेपालको घरेलु क्रिकेट मैदानमा खेल्न आएमध्ये हालसम्मकै उच्चकोटीका विश्वस्तरीय अलराउन्डर अफ्रिदीले जहाजमा पनि ‘अटेन्सन’ पाए ।