
दीपेन्द्र के खनालको निर्देशनमा कमेडी तथा सोसल ड्रामा ‘के घर के डेरा’ फिल्म बन्ने भएको छ। फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको प्रमुख भूमिका हुनेछ ।
दुई वर्षअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिए पनि निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ।
निर्देशक खनालका अनुसार फिल्मको कथावस्तु र नयाँ टिमसहित आगामी वैशाख तेस्रो सातादेखि फ्लोरमा जान लागिएको जानकारी दिए । ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हाँस्य ढंगले फिल्म बन्नेछ,’ पत्रकार सम्मेलनमा निर्देशक खनालले भने।
निर्देशक खनालले ‘झोले’ पछि दयाहाङ, ‘पशुपति प्रसाद’ पछि विपिन र ‘चंगा चेट’ पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ उनले भने ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माता हुन् ।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्ष नै प्रदर्शनमा ल्याउने तयारी रहेको जनाइएको छ।