अधुरा खानेपानी सम्पन्न गराउन आगामी वर्ष पर्याप्त बजेटः मुख्यमन्त्री पोख्रेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अधुरा रहेका खानेपानी योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आज यहाँ आयोजित ११औँ साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले हरेक नागरिकलाई आधारभूत खानेपानी सुविधा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
“अझै पनि धेरै गाउँमा खानेपानीको सुविधा पुगेको छैन्”, उहाँले भन्नुभयो, “दुई वर्ष कोरोना सङ्क्रमणका कारण खानेपानी योजना सम्पन्न हुन सकेनन्, त्यस्ता योजना सम्पन्न गर्नका लागि सरकार गम्भीर छ ।” मुख्यमन्त्री पोख्रेलले दुई वर्षभित्र प्रदेशवासीलाई आधारभूत खानेपानी सुविधा पु¥याउने नीति लिइएको उल्लेख गर्नुभयो ।
उहाँले कुवाको पानी उपभोग गर्न बाध्य जनतालाई आगामी वर्षभित्र आधारभूत खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नेतृत्वको सरकारले पाँच हजार घरमा खानेपानी सुविधा पु¥याइसके पनि त्यो पर्याप्त नरहेको उल्लेख गर्दै उहाँले सरकार परिवर्तन भए पनि खानेपानी र उज्यालो प्रदेशका कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री पोख्रेलले स्वच्छ खानेपानी सुविधा पु¥याउन सकिए स्वास्थ्यतर्फको लगानी घट्ने उल्लेख गर्दै खानेपानीका कारण ८० प्रतिशतभन्दा बढी रोग लाग्ने तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले एक घरः एक धारा सरकारको प्राथमिकतामा रहेको पनि बताउनुभयो ।
आन्तरिक मामिलामन्त्री डोवाटे विकले आगामी वर्षको बजेटमा अधुरा खानेपानी सम्पन्न गराउने गरी पर्याप्त बजेट विनियोजन गरिने बताउनुभयो । जलस्रोत तथा ऊर्जामन्त्री हरिशरण आचार्यले सबै नागरिकलाई खानेपानी सुविधा पु¥याउनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गराउनेतर्फ सरकार अगाडि बढेको बताउनुभयो ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष वृषराज श्रेष्ठले बजार क्षेत्रमा वितरण गरिएको पानी अझै पनि पर्याप्त नभएकाले खानेपानी योजना विस्तारको योजना बनाइएको बताउनुभयो । उहाँले खानेपानीलाई विद्युत् महसुल शुल्कमा छुट दिन सरकारसमक्ष आग्रह गर्नुभयो ।
–––


