बुधबार , जेठ २०, २०८३

किस्पाङमा करोडभन्दा माथिको तीन सिँचाइ योजना
नुवाकोटको किस्पाङ गाउँपालिकामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत करोडभन्दा माथिको तीनवटा सिँचाइ योजना कार्यान्वयनमा ल्याइएको छ । किस्पाङको पाँचवटै वडाका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन भिन्नभिन्न तीन योजना कार्यान्वयनमा ल्याइएको डिभिजन प्रमुख हरिप्रसाद गुरागार्इंले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोटको ठूलो योजनामध्येमा पर्ने सप्ताङ्क खोला सिँचाइ योजना कार्यान्वयनमा ल्याउन प्रारम्भिक वातावरणीय परीक्षण (आइई) निर्माणको काम अन्तिम चरणमा पु¥याइएको छ । “जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको प्राविधिकमार्फत गरिएको सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा रु २२ करोड हाराहारीमा बजेट लाग्ने देखिएसँगै यो आर्थिक वर्षमा रु एक करोड २० लाख रकम विनियोजन गरेका छाँै ।” डिभिजन प्रमुख गुरागाईंले भन्नुभयो, “योजना कार्यान्वयनमा दिगोपन सुनिश्चित गराउन गाउँपालिकासँगको समन्वयमा आइई भइरहेको छ ।” उक्त योजना सञ्चालनमा आएसँगै किस्पाङ–१, २, ३ र ५ को ३५० हेक्टर जग्गाधनी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । योजना सम्पन्न भएपश्चात् अहिले सिँचाइ अभावले बाँझो रहेका जग्गामा बाह्रै महिना पर्याप्त सिँचाइ सुविधा पु¥याउन सकिने विश्वास लिइएको छ ।

उक्त सिँचाइ योजना सञ्चालनका लागि किसान उपभोक्ताले कूल लगानीको तीन प्रतिशत श्रमदान सुनिश्चित गर्नुपर्नेछ भने मर्मतसम्भार तथा क्षति न्यूनीकरणका लागि पालिकाबाट प्रतिबद्धता माग गरिएको डिभिजन प्रमुख गुरागार्इंले जानकारी दिनुभयो ।
उहाँका अनुसार नुवाकोटको दुर्गम भूगोलसहित दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रमा कृषि–पर्यटनलाई समेत लक्षित गर्दै योजना तथा कार्यक्रम सञ्चालनमा डिभिजन कार्यालयले उच्च प्रथामिकता दिएको छ ।

यसैगरी, किस्पाङ गाउँपालिकाको साल्मे र भाल्चे खोलाको सीमा हुँदै बगेको खोलाको पानीलाई सदुपयोग गरेर किस्पाङ–४ को साल्मेतर्फ रु एक करोड ६० लाख बजेट उपलब्ध गराई ‘ग्यान्सिने–पौलिङ–जोङ्गमा सिँचाइ कुलो’ निर्माण गर्न लागिएको छ । उक्त योजनाका लागि प्राप्त भएको बजेटअन्तर्गत निर्माण व्यवसायी जलुकेनी–बागेश्वरी जेभीमार्फत काम अघि बढाइएको छ ।

ठेक्का लगाइएको रकमबाट बाँकी रहेको बजेटले उपभोक्ता समितिमार्फत कामअघि बढाउन लागिएको डिभिजन प्रमुख गुरागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत समावेश गरिएको उक्त योजनामा रु चार करोडसम्म बजेट सुनिश्चित गरिएको छ । यो सिँचाइ कुलो नुवाकोटमा रहेका सिँचाइ कुलाहरुमध्ये सबैभन्दा उचाइको भूगोल (समुन्द्री सतहबाट दुई हजार ३०० मी)मा पर्दछ ।

यसैगरी, गत वर्षदेखि सुरु भएको किस्पाङ गाउँपालिका–१ भाल्चेमा यो आर्थिक वर्षमा थप रु एक करोड बजेट प्राप्त भएसँगै निर्माण व्यवसायीमार्फत सिँचाइ कुलो निर्माणको कामलाई निरन्तरता दिइएको छ । ‘छ्याङ्ला खोला सिँचाइ योजना’को सिँचाइ कुलो निर्माणको जिम्मेवारी पाएको थापाकाजी कन्स्ट्रक्शनले अहिले कुलोको लाइन बनाउने काम सुरु गरेको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले सिँचाइ योजनासहित किस्पाङमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षणका लागिसमेत माग अनुसारको बजेट उपलब्ध गराएको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो पहिरामा पर्ने किस्पाङ–४ साल्मेको पहिरो नियन्त्रणका लागि यो आर्थिक वर्षमा रु ५५ लाख बजेट उपलब्ध गराई काम अघि बढाइएको छ । उक्त पालिकाको वडा नं ३ स्थित किर्नेबगर बस्ती संरक्षणका लागि त्याँहा बगेको पहिरो रोकथाम गर्न उपलब्ध गराइएको रु दश लाख बजेटको काम पनि अन्तिम चरणमा पु¥याइएको छ ।

डिभिजन कार्यालयमार्फत नुवाकोट चालु आर्थिक वर्षमा सिँचाइ कुलो, नदी तथा खोलाले पु¥याएको कटान नियन्त्रण एवम् जोखिम बस्ती संरक्षण, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जा र ऊर्जाको पुनः प्रयोग कार्यक्रमअन्तर्गत करीब रु २२ करोड लगानीमा ८५ भन्दा बढी योजना कार्यान्वयनमा रहेका छन् । प्रदेश सरकारबाट हालै मात्र रु पाँच लाख हाराहारीका थप १७ योजना पनि कार्यान्वयनका लागि थप गरेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर