latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

माछापालनमा किसानको आकर्षण
दश वर्षदेखि माछापालन गरिरहनुभएका रुद्र पौडेल माछापोखरी विस्तारको तयारीमा हुनुहुन्छ । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उहाँका चार पोखरी छन् । पौडेलले अझै केही पोखरी विस्तार गरेर व्यावसायिक माछापालन थाल्दै हुनुहुन्छ ।

परम्परागत शैलीमा माछा पाल्दै आउनुभएका पौडेलले माछापालनसम्बन्धी थप ज्ञानको महसुस गर्नुभयो । नगरपालिकाले सुरु गरेको तीनदिने माछापालनसम्बन्धी सीपमूलक तालिममा पौडेल सहभागी हुनुभएको छ । “आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यावसायिक हिसाबले माछा पाल्ने सोँच छ”, पौडेल भन्नुहुन्छ ।

बागलुङ–३ को तरकारी गाउँमा १० वर्षदेखि माछा पालिरहनुभएका गङ्गाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बनाउनुभएको छ । चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यावसायिक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धी ज्ञानको खोजी गर्नुभयो । नगरपालिकाको तालिममा थापा पनि सहभागी हुनुभएको छ ।

नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना तथा केही नयाँ व्यवसाय थाल्ने किसानको उत्साहजनक सहभागिता छ । पुराना किसानले सीप खोज्दै छन्भने नयाँ किसान सीप सिकेर व्यवसाय गर्ने तयारीमा छन् । नगरपालिकाले आयोजना गरेको तालिममा सहभागी झण्डै ३० किसानको व्यावसायिक माछा पालेर आम्दानी बढाउने एउटै लक्ष्य छ ।

बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ । पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषि सापकोटाले बताउनुभयो । उहाँले पछिल्लो समय माछाको माग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताउनुभयो । सरकारी अनुदान र सीप हस्तान्तरणले किसानलाई सघाएको उहाँको धारणा थियो ।

बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसान माछापालनमा आकर्षित भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । अहिले पनि विदेशबाट माछा आयात हुने गरेको जनाउँदै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानलाई आग्रह गर्नुभयो । “हामीले उत्पादनमा अनुदान र सीपमूलक तालिममा सहयोग गरेका छौँ, किसानले मेहेनत गरेर उत्पादन गर्नुहुन्छ”, पौडेल भन्नुहुन्छ, “यो पनि एउटा सजिलो व्यवसाय हो ।”

माछा विज्ञ गायत्रीराज वाग्लेले माछापालन र खाने शैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यका हिसाबले माछा खानु उपयुक्त रहेको उदाहरण दिँदै उहाँले सीपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताउनुभयो । माछा पाल्न र खान दुवै हिसाबले फाइदाजनक रहेको उहाँले सुनाउनुभयो । तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्नुहुने छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय