latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

तातोपानी जोड्ने सडक कालोपत्र सुरु
प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिनुभयो । “प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्र हुन्छ”, उहाँले भन्नुभयो, “बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रका लागि तयार भएको छ ।”

प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्र गर्न लागिएको हो । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्र गरिसक्ने बताउनुभयो ।

“कालोपत्रका लागि आवश्यक सबै उपकरण र निर्माण सामग्री जुटाइसकेका छौँ”, उहाँले भन्नुभयो, “मौसमले साथ दिने हो भने चैतभित्र कालोपत्र सकिन्छ । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक १०० मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ ।”

आयोजना व्यवस्थापक सदाले काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन नसकेको गुनासो गर्नुभयो । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सदाले बताउनुभयो । यही चैत मसान्तसम्म योजनाको सम्झौताको म्याद थपिएको छ । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो ।

म्याग्दीको ‘लाइफ लाइन’ मानिने विसं २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिराले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय