
दुर्गेश थापाको गीत प्रसारण रोक्न माग
वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।
“कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो”, विज्ञप्तिमा भनिएको छ ।
–––
थप तीन हजार ५४० मा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।
–––