
विश्व रेकर्ड बनाएका नेपाली हिमआरोही निर्मलले सलमानलाई नेपाल आउने निम्ता दिए, सलमानको यस्तो जवाफ
काठमाडौ । नेपालका चर्चित हिमआरोही निर्मल पुर्जा अहिले नेपाललाई विश्वमा चिनाउने अभियानमा लागेका छन् । त्यसैले उनी अहिले विश्वव्यापी भ्रमणमा छन् । विश्वका चर्चित ब्यक्तिलाई नेपाल बोलाएर नेपाललाई विश्व माझ चिनाउने अभियानमा लागेका पुर्जाले बलिउड अभिनेता सलमान खानलाई मुम्बईमा भेटेका छन्। उनले त्यसवारे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
बलिउड अभिनेता खानलाई भेटका क्रममा उनले आफ्नो बायोग्राफी पनि उपहारस्वरुप दिएको देखिन्छ । उनले विश्वभरका अग्ला शिखर चढेर त्यसको अनुभव सहितको बायोग्राफी प्रकाशन गरेका छन्।
नेपालका खर्बपति विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीसँगै उनले सलमानलाई भेटेको बताएका छन् । भेटका क्रममा सलमानलाई नेपाल भ्रमणको पनि निम्तो दिएको जानकारी पनि उनले गराएका छन्। सलमानवाट पनि सकारात्मक प्रतिकृया पाएपछि उनी खुसी भएका छन् ।
बितेको ७ महिनामा उनले विश्वका १४ अग्ला हिमाल चढेर विश्व रेकर्ड बनाएका हुन् । अहिले पुर्जाले आफ्नो जीवनी समेटिएको पुस्तक उपहारस्वरुप दिँदै सलमानलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। विश्वमाझ नेपाललाई चिनाउने उनले विश्वका सेलिब्रिटीलाई ल्याएर नेपालमा ठूलो कार्यक्रम गर्ने योजना बनाएका छन्। सलमानलाई पनि उनले सोही कार्यक्रमका लागि निम्ता दिएका हुन् ।
यसअघि उनले डिस्कभरि च्यानलको ुम्यान भर्सेज वाइल्डुका प्रस्तोता बियर ग्रिल्जलाई नेपाल बोलाइसकेका छन्। उनले यसबारेको जानकारी चर्चित फोटो साइट इन्स्टाग्रामार्फत दिएका छन्। ‘सलमान भाइसँगै आनन्ददायी भेट भयो। मेरो देशमा चाँडै भेट हुनेछ,’ उनले इन्स्टाग्राममा भनेका छन्।
आरोही निर्मल पुर्जा केही महिनायता ओटिई प्लाटफर्म नेटफिल्क्समा उपलब्ध डकुमेन्ट्री ‘फोर्टिन पिक्सस् नथिङ इज इम्पोसिबल’का कारण चर्चामा छन्। यसअघि सलमान दबङ्ग रिलोडेड मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन नेपाल आउने तयारीमा थिए। तर त्यो कार्यक्रम आयोजक विवादमा मुछिएपछि उनी नेपाल आउन पाएका थिएनन्। कोभिडका कारण पनि कार्यक्रम प्रभावित भएको हो ।