latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु
– नारायण अधिकारी
चितवन, १३ माघ (रासस) : वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आब्हान गर्ने गरी काम अघि बढाइएको छ ।

सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भइसक्ने छ । उहाँका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।

नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रविन्द्रकुमार थापाका अनुसार अन्य खण्डको बोलपत्र प्रकाशनको तयारी गरिएको छ । उहाँले भन्नुभयो “अहिले म विभागमै रहेर बोलपत्रका लागि आवश्यक प्रक्रियाका काममा जुटेको छु, १०÷१२ दिनभित्र सबै बोलपत्र प्रकाशित हुन्छन् ।”

पाँच खण्डमा विभाजन गरेर बोलपत्र आब्हान गरिंदै छ । हरेक वर्ष बाढीले दुःख दिने गरेको सिसई क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो । यसै वर्षको वर्षात्मा बाढी रोक्न सकियोस् भनेर काम थालिएको उहाँको भनाइ छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शिवजी साहका अनुसार कंक्रिटको ब्लक, जाली र साना ठूला ढुङ्गा राखेर त्यहाँ तटबन्ध गरिंदै छ । तीन मिटरदेखि चार दशमलव पाँच मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिंदै छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भइसकेकाले अब बहुवर्षिय ठेक्कामार्फत् काम सम्पन्न हुने बताउनुभयो । नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररुपमा लागि परेकै कारण उपलब्धी भएको उहाँको भनाइ छ ।

नदी तटबन्धका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्विकृत गरी अर्थ मन्त्रालय पठाएको हो । त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको छ । सोमध्ये पहिलो चरणमा रु पाँच अर्बको कामका लागि बहुवर्षिय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो ।

नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका एवं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन् । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलले गुरु योजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको बताउनुभयो । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरिसकिएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय