latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मनाङमा हिमपातमै बुस्टर खोप अभियान
मनाङ, ८ माघ

मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको सो खोप पनि जिल्लामा आइसकेको छ । प्रमुख आचार्यले बुधबार सदरमुकाम चामेस्थित रण दल गुल्ममा नेपाली सेना र सशस्त्र प्रहरी तथा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुस्टर खोप लगाइएको बताउनुभयो । माघ ६ गते जिल्ला अस्पतालमा सार्वजनिक सेवामा खटिने व्यक्तिलाई बुस्टर खोप लगाइएको थियो ।

हिमपातका बीच मनाङमा बुस्टर खोप अभियान सञ्चालन भइरहेको छ । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत माघ ७ गते लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर डोज खोप लगाइएको जनाइएको छ । माघ १० गते चामे गाउँपालिका, माघ २० गते मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज खोप लगाइने स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । बढी चिसोका कारण नार्पाभूमि गाउँपालिकामा भने समय तोक्न सकिएको छैन ।

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको हो । “नार्पाभूमिवासी फागुन महिनाको दोस्रो सातामात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ”, आचार्यले भन्नुभयो ।

मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो डोज खोप लगाएका थिए । तर नार्पाभूमि र माथिल्लो मनाङका बालवालिकाले भने मोडर्ना खोप लगाउने मौका पाएनन् । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई बुस्टर डोज लगाइसकेपछि दोस्रो मात्रा लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसँगै त्यहाँका बालबालिका बँेसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय