latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा
थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन । नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आउनुभएको छ ।

उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गर्नुभएको हो । उहाँको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पाइन्छन् । त्यसो त होटलमा अरु परिकार पनि पाक्ने गर्दछन् ।

महतोले भन्नुभयो, “मेरो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्दछ ।” चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवद्र्धक र पोषिलो हुने गर्दछ । थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “म थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गर्दछु ।”

परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उहाँको अनुभव छ । थारु परिकार पाइन्छ भन्ने थाहा पाउने परपरबाट पनि आफ्नामा आउने गरेको महतोको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो जातिको पहिचानसहितको यो परम्परागत खानाको माग बढ्दो छ ।” मानव स्वास्थ्यका लागि थारु परिकार आफैँमा निकै राम्रो हुने उहाँको दाबी छ ।

त्यसो त यो समुदाय खानाकै कारण स्वस्थ र दीर्घजीवी हुने गर्दछ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका महतोले २२ वर्षको उमेरबाट होटल क्षेत्रमा काम थाल्नुभएको हो । अहिले ३८ वर्ष हुँदै गर्दा आफू सन्तुष्ट रहेको बताउनुहुने महतोले झण्डै नौ वर्ष जिल्लाको ठूलो होटल सेन्ट्रल पाममा काम गर्नुभयो । झाडुपोचादेखि व्यवस्थापनसम्मको सबै कामको अनुभव सङ्गाल्नुभएका उहाँले केही वर्ष नारायणगढमै साथीको एक होटलमा व्यवस्थापकको जिम्मेवारी सम्हाल्नुभयो ।

उहाँले विसं २०७४ को असोज ६ गतेदेखि यो होटल सुरुआत गर्नुभएको हो । ऋण गरेर रु २० लाख हाराहारीको लगानीमा सुरु भएको ह्याप्पी होममा सुरुमा आठ कोठा थिए । अहिले बढाउँदै लगेर २० कोठा पुगेका छन् । लगानी रु एक करोडभन्दा बढी भइसकेको महतोको भनाइ छ ।

बैंकमा ऋण भए पनि ग्राहकको सन्तुष्टिका कारण आफूलाई पनि सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । आफ्ना उमेरका धेरै साथी विदेशिएको भन्दै उहाँले स्वदेशमै आफ्नो जातिको भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै खानाको प्रवद्र्धनमा लाग्न पाउँदा यसैमा रमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले अहिले पनि १२ जनालाई रोजगारी पनि दिन सकेको छु ।”

अन्यत्र काम गर्दा आफूले गरेको मिहिनेतको प्रतिफल अहिले पाउन थालेको भन्दै उहाँले मिहिनेतका साथ काम ग¥यो भने स्वदेशमै धेरै गर्न सकिने बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय