
प्रदेश नं १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लगाइनेः मुख्यमन्त्री राई
मोरङ, ४ माघ (रासस) ः
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताउनुभएको छ ।
मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।” मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो
उहाँले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो ।
–––
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण
काठमाडौँ, ४ माघ (रासस) ः
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
आज पीसीआर परीक्षणको क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
रुघाखोकीजस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहनुभएको छ ।
–––