latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , भाद्र २६, २०८३

झापा, २७ चैतः नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ ।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बीमित रहेको बताउनुभयो । स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बीमित छन् । झापापछि बीमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन् ।

मोरङमा छ लाख एक हजार चार सय २९ जना, सुनसरीमा पाँच लाख ७५ हजार छ सय ९५ जना र चितवनमा पाँच लाख ६५ हजार सात सय १० जना बीमित छन् ।

उहाँले झापामा कूल जनसङ्ख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको जानकारी दिनुभयो । १५ पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी बीमितको सङ्ख्या दमक नगरपालिकामा रहेको छ भने कम सङ्ख्या झापा गाउँपालिकामा रहेको छ ।

दमकमा एक लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसङ्ख्याको एक सय तीन प्रतिशत बीमित रहेको संयोजक कँडेलले जानकारी दिनुभयो । भुटानी शरणार्थी र घर भाडामा बस्नेको बिमा भएको हुँदा दमकमा नगरको जनसङ्ख्याभन्दा धेरै बीमित रहेको उहाँले बताउनुभयो ।

सबैभन्दा थोरै बीमित रहेको झापा गाउँपालिकामा १४ हजार नौ सय ७४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन् । यहाँको जनसङ्ख्याको तुलनामा बीमितको सङ्ख्या ३८ प्रतिशत मात्र रहेको छ ।

यसैगरी, अर्जुनधारा नगरपालिकामा ४९ हजार सात सय ६९, भद्रपुरमा ५५ हजार ८३, बाह्रदशी गाउँपालिकामा २० हजार तीन सय २७, विर्तामोडमा ८१ हजार नौ सय ४९, बुद्धशान्ति गाउँपालिका ३८ हजार छसय ४७ र गौरादह नगरपालिका ४६ हजार नौ सय ३१ जना बीमित भएका छन् ।

गौरीगञ्ज गाउँपालिकामा १९ हजार चार सय १०, हल्दिबारीमा २५ हजार नौ, कचनकवल गाउँपालिकमा २६ हजार दुई सय ६७, कमल गाउँपालिकामा ४८ हजार तीन सय १२, कनकाई नगरपालिकामा ४१ हजार नौ सय ११, मेचीनगरमा ७८ जार छ सय ५२, शिवसताक्षीमा ५७ हजार चार सय नौ जना बीमित रहेको जिल्ला संयोजक कँडेलले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा स्वास्थ्य बिमाबाट पाउने सेवाप्रति जनताको आकर्षण बढ्दै गएकाले नवीकरण गर्नेको सङ्ख्यासमेत वृद्धि भइरहेको बताउनुभयो । उहाँले लक्षित वर्ग समूहमा धेरै नागरिक बीमित रहेको बताउनुभयो । प्रादेशिक अस्पताल भद्रपुरसहित जिल्लाका १४ वटा प्राथमिक सेवा प्रदायक संस्थाबाट बीमितले सेवा लिइरहेका छन् । रेफर भएका बीमितले विर्तामोडको विएन्डसी, कनकाई अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा, दमकको निम्स, आम्दा र दमक अस्पतालबाट बीमितले सेवा पाइरहेको उहाँको भनाइ छ । झापाका पाँच वटा आँखा अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बीमितले सेवा पाइरहेका छन् ।

उहाँले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा पालिकाहरु र स्वास्थ्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वयको अभाव हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय