latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

त्रिवेणी (नवलपरासी), ७ चैतः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो ।

अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् । यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन्, त्यस्ता सामग्रीसमेत सङ्ग्रहालयमा राखिएका छन् । आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि यहाँ सङ्ग्रह गरिएका छन् । यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्र्रहालयमा रहेको अध्यक्ष महतोले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् । थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा यसमा रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताउनुभयो । “यहाँ आएपछि थारू समुदायका रहनसहन कस्तो हुन्छ, पहिरन के हुन्छन्, घरमा के कस्ता सामग्री हुन्छन्, सबै अवलोकन गर्न पाइन्छ, यस कारण पर्यटक यहाँ आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो ।

विसं २०६६ मा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ । सुरुमा यहाँ निःशुल्क प्रवेशको व्यवस्था थियो । पछिल्लो छ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु २५ र विदेशीका लागि प्रतिव्यक्ति रु १०० शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि शुल्क लिने गरिएको समितिले जनाएको छ ।

शुल्क लिन थालेपछि यहाँ अवलोकनका लागि आउने पर्यटकको अभिलेख राख्न सहज भएको समितिका अध्यक्ष महतोले बताउनुभयो । शुल्क लिन थालेको छ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी करिब चार हजार जनाले सङ्ग्रहालय अवलोकन गरेको अभिलेख छ । गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नुभन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर सामग्री सङ्कलन गरिएको हो । केही सामान भने खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिनुभयो ।

सङ्ग्रहालयले यहाँको पर्यटकीय गतिविधिमा टेवा पुगेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । अमलटारी क्षेत्रमा आउँदा वन्यजन्तु अवलोकन मात्र नभएर यहाँका आदिवासीको रहनसहन, कलासंस्कृतिको समेत अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय