latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको केन्द्र गर्ने थलोका रूपमा विकास भएको छ ।

https://youtu.be/Wu8QeUFXR7w

प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले गण्डकी प्रदेश सरकार र प्रवासमा रहेका बिमवासीको सहयोगमा मेडिटेसनस्थलको पूर्वाधार तयार पारिएको जानकारी दिनुभयो ।

“परापूर्वकालमा ऋषिमुनिहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो”, योग प्रशिक्षकसमेत रहनुभएका उहाँले भन्नुभयो, “बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेलामा पूर्वाधार तयार भएको छ ।”

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु ५० लाख बजेटबाट ध्यान केन्द्रस्थल वरपर घेराबार, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । रु २८ लाख खर्चेर गोलो आकारको ध्यान गर्ने भवन निर्माण भएको छ । स्थानीय काठ, ढुङ्गामाटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमवासीले सहयोग गरेका अध्यक्ष जुग्जालीले बताउनुभयो ।

पूर्वाधार निर्माणपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताउनुुभयो । “प्रभुुचेलाको धार्मिक महत्व नबुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयवासीले गाईभँैसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए”, उहाँले भन्नुभयो, “प्राकृतिक हिसाबले सुन्दर र मनमोहक रहेको प्रभुचेलामा नियमित ध्यानकेन्द्र सञ्चालनको तयारीमा छौँ ।”

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण भएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिहरूका लागि तपस्यास्थल थियो । बिमगाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङबाट प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनुभएको छ । पलवीर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनर्निर्माण गर्नुभएको छ ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनुभएको छ । रुपलाल पुनको संयोजकत्वमा स्वर्गीय मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किँदा आश्रय लिन सहज भएको छ । समुद्र सतहबाट दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमबाट दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । प्रभुुचेलालाई ध्यान केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट विनियोजन गराएको म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय