latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

खोटाङ, १८ माघः जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ । सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् ।

यहाँका किसानले उखु बेच्दैनन्, त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन् । यहाँ विसं २०३८ मा स्थानीय किसानहरू मिलेर खरिद गरेको फलामे मेसिन छ । यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन् । त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सखर बनाउँछन् । अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान ।

स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्यसबाट बनेको खुदोलाई पुनः आगोको भुङ्ग्रोमा पकाएर परम्परागत रूपमा सक्खर बनाउने काम यहाँको पुख्र्यौली पेसाको रूपमा रहेको बताउनुभयो । “पुर्खाका पालादेखि काठको कोलमा उखु पेल्दै आएका थियौँ, पछि २०३८ सालमा किसानहरू मिलेर फलामे मेसिन ल्यायौँ । उक्त मेसिन सबैको पायक पर्ने ठाउँमा जडान गरेर पालैपालो उखु पेल्ने गरिएको छ । आजपर्यन्त त्यसैको प्रयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस मेसिनमा किसानले बिहान र दिउँसो पालैपालो हल गोरुसहित उखु पेल्ने गरेका छन् । यसरी उत्पादित सखरको डल्ला बनाएर बिक्री गर्ने गरिएको कार्कीले जानकारी दिनुभयो । यहाँ रु ८०० मा एक धार्नी बिक्री हुने गरेको छ ।

अर्का किसान कण्ठ कार्कीले यस वर्ष यहाँ करिब छ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरिएको बताउनुभयो । यहाँ उत्पादन हुने धेरैजसो सक्खर घरबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । “एक रोपनी जग्गामा लगाएको उखुबाट सखर बनाएर बिक्री गर्दा रु एक लाखसम्म आम्दानी हुने गरेको छ । यसरी वार्षिक रु चार लाखसम्म आम्दानी हुन्छ”, कार्कीले भन्नुभयो, “उत्पादित सक्खर बिक्रीका लागि बजारको कुनै समस्या छैन, बरु मागअनुसार उत्पादन गर्न सकिएको छैन । आगामी दिनमा उखुखेती विस्तार गर्ने योजनामा छौँ ।”

सुक्खाग्रस्त क्षेत्रमा पर्ने वडा नं १ र वडा नं ११ राजापानीको भाँडबेँसीमा मात्र सक्खर उत्पादन हुँदै आएको छ । यस नगरपालिकामा उखुसँगै गहत, जुनेलो, बदाम, कपासलगायत परम्परात कृषिखेती हुँदै आएको छ । ११ वडा रहेको उक्त नगरपालिकामा परम्परागत रुपमा किसानले गर्दै आएको रैथाने बाली प्रवद्र्धनका लागि नगरपालिकाले अनुदान उपलब्ध गराउँदै आएको छ । सोही नीतिअनुसार भाँडबेँसीमा उखु किसानलाई लक्षित गरी नगरपालिकाले उखु पेल्ने मेसिन उपलब्ध गराएको नगर उपप्रमुख रमेश राउतले जानकारी दिनुभयो ।

रैथाने बाली संरक्षण तथा प्रवर्द्धनका लागि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग दिने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय