latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , भाद्र २६, २०८३

काठमाडौँ, १६ माघः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आज यहाँ आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा उहाँले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।

“पछिल्लो समय ‘स्टार्ट अप’ व्यवसायतर्फ आकर्षण बढ्दो छ, युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गर्दैछन्, यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ”, सभापति देउवाले भन्नुभयो, “व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ, थोरै लगानीमै ‘स्टार्ट अप’ व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।”

योसँगै बहुसम्भावनाका क्षेत्र कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधिजस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उद्यमी, व्यापारी, व्यवसायीले भोग्नुपरेका कानुनी तथा प्रक्रियागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको छ, यो कानुनले यस क्षेत्रको सुधारमा आवश्यक सहयोग पुग्ने विश्वास लिएको छु ।”

मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि भएको बताउँदै सभापति देउवाले यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संशाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेमा जोड दिनुभयो । “यहाँ हुने विभिन्न नवीनतम उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ, बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ”, सभापति देउवाले भन्नुभयो, “नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनसमेत टेवा पुग्ने मेरो विश्वास छ ।”

उहाँले यस सम्मेलनको छलफलबाट आएका निष्कर्षबाट एउटा कार्ययोजनाको खाका तय गर्न पार्टीलाई मात्र नभई सरकारलाई पनि मार्गदर्शन गर्ने अपेक्षा गर्नुभयो । “सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरुको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनको प्रचार–प्रसार एवं बिक्रीमा वृद्धि गर्नेलगायत जुन लक्ष्य राखिएको छ, सबैको प्रयासबाट अपेक्षित परिणाम हात लाग्ने नै छ”, उहाँले भन्नुभयो ।

सम्मेलन आज र बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका सिकाइ, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय