latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

इलाम, ३ माघः माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बन्नुभएको छ । छ वर्ष साइप्रस बसेर गाउँ फर्किनुभएका उहाँहरुले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो । ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ ।

“अहिले ४२ बङ्गुर छन् । पाठा हालेको सात महिना भयो । अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ”, लक्ष्मीले भन्नुभयो, “पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ । बेच्न समस्या हुँदैन”, राम्रो स्याहार पुगेको एउटा बङ्गुर सामान्यतया एक क्विन्टल (एक सय केजी) हुने उहाँले बताउनुभयो । इलामका बजारमा बङ्गुरको मासु हाल प्रतिकेजी र पाँच सयदेखि छ सयसम्म बिक्री भइरहेको छ ।

पशुपालन मात्रै होइन । पुजनका दुई वटा यात्रु गाडी छन् । फार्ममा लक्ष्मीसहित अन्य दुईजना खट्नुहुन्छ भने पुजन गाडी लिएर जानुहुन्छ । “नामसालिङबाट सदरमुकाम हुँदै झापासम्म जाने र फिक्कल बजारसम्म जाने दुई वटा प्यासेन्जर गाडी छन्”, पुजनले भन्नुभयो, “एउटाचैँ आफैँ चलाउँछु । अर्को चलाउने साथी हुनुहुन्छ ।” एउटा नभए अर्को त पक्कै हुन्छ भनेर पशुपालनसँगै यातायात व्यवसाय पनि थालिएको उहाँ बताउनुहुन्छ । “बङ्गुरपालन असफल भए गाडी चलाएर जिउन सकिन्छ । तर, हाल दुवै व्यवसाय सफल नै छन् । विदेश जान मन छैन । स्वदेशमै राम्रो गर्न सकियोस् भन्ने लागेको छ ।”

गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताउनुभयो । “रोगले आमा बित्नुभयो । त्यसपछि विदेश जाने मन भएन । गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “पुर्खाले पनि बङ्गुर त पालेकै हुन् । तर, व्यावसायिक बन्न नसक्दा सधँै निर्वाहमुखी हुनुपर्यो । विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।”

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ । पुजन र लक्ष्मीले सुरु गर्नुभएको बङ्गुरपालन कर्मले गाउँलाई व्यावसायिक बन्नुपर्छ भन्ने कुरामा प्रोत्साहित गरेको भन्दै गाउँपालिका अध्यक्ष थेबेले सकेसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । “पालिकाभित्र व्यवसाय सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौं ।” उहाँले भन्नुभयो । जिल्लामा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्य सुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको गाउँपालिका उपाध्यक्ष प्रवीना राईले बताउनुभयो ।

पाल्तु पशुमध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिने माईजोगमाईका पशु प्राविधिक प्रदीप गुरुङले बताउनुभयो । “बङ्गुरपालन व्यवसायबाट अन्य पशुपन्छीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ । उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकी बङ्गुरपालन व्यवसायबाट लगानी गरेको प्रतिफलको ६० प्रतिशतसम्म पाइएको छ ।” गुरुङले भन्नुभयो ।

मासुको रूपमा बङ्गुुरको प्रायः सबैजसो अङ्गको परिकार बनाएर खाइने गरेको छ । बङ्गुुरको मासुबाट बनाइने विभिन्न परिकारमा ससेज, ब्याकन, ह्याम आदि बनाइने होटल व्यवसायी सोम सुनुवारले बताउनुभएको छ । बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकाले मासु एक सन्तुलित आहारा भएको चिकित्सक सरोज दर्नालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय