latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बेनी, २३ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ ।

 

विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो । सुवेदीमात्रै होइन, यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा बुन्ने सीप सिक्न थालेका छन् ।

विद्यालय र स्थानीय शुभकामना कृषि सहकारी संस्थाको साझेदारीमा विद्यालयले कक्षा १० का विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिनुभयो । शुक्रबार र अन्य दिनमा दिउँसो खाजा खाने समय र विषयगत पठनपाठन नहुने समयमा विद्यार्थीलाई मुढा बुनाइको तालिम दिने गरिएको उहाँले बताउनुभयो ।

असोज १९ गतेबाट सुरु भएको विद्यार्थीको मुढा बुनाइ तालिम करिब दुई सातासम्म सञ्चालन हुनेछ । स्थानीयस्तरमा पाइने बाँसको सिन्कासमेत विद्यार्थी आफैँले तयार गरेका हुन् । विद्यालयले मुढामा प्रयोग गरिने रसीको बन्दोबस्त गरेपछि मुढा बुन्दै आउनुभएका स्थानीय नेत्रलाल गोतामेलाई प्रशिक्षक र विद्यालयकै शिक्षक गोविन्द पौडेललाई सहप्रशिक्षक तोकेर मुढा बुन्ने तालिम सञ्चालन भइरहेको छ ।

कक्षाकोठामा किताबको मात्रै पढाइ हुँदा विद्यार्थी शिक्षित बने पनि सीपविहीन बन्ने गरेकाले उनीहरूलाई हामी पनि गर्न सक्छाँै भन्ने भावना र उपयोगी सीपको विकास गराउने उद्देश्यले मुढा बुनाइ तालिम सञ्चालन भएको तालिमका सहप्रशिक्षकसमेत रहनुभएका शिक्षक गोविन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरू मुढाका लागि आवश्यक पर्ने सिन्का तयार गर्न र सिन्कालाई फ्रेममा राखेर रसीको डोरीले मुढा बुन्न सक्ने भइसकेका छन् ।

एउटा मुढा बुन्न १४ देखि १८ इन्चका ९० देखि एक सय १० वटासम्म सिन्का प्रयोग हुने गरेको विद्यार्थी बताउँछन् । विद्यालयमा सिकेको सीपलाई घरायसी प्रयोगमा समेत उपयोग गर्ने उनीहरूको तयारी छ । मुढा बुन्ने तालिमबाट सीप सिकेका विद्यार्थीबाट फुर्सदको समयमा नियमित मुढा बुन्ने र त्यसलाई विद्यालयमार्फत बिक्री गरेर विद्यालयको बाल क्लबका लागि आम्दानी गर्ने लक्ष्यसमेत बनाएको बाल क्लबका अध्यक्ष कृति सुवेदीले बताउनुभयो ।

विद्यालयले यसअघि गत वर्ष कक्षा ९ का विद्यार्थीलाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरेको थियो । उक्त तालिम फलदायी बनेपछि कक्षा १० का विद्यार्थीलाई समेत सीपमूलक कार्यक्रमअन्तर्गत मुढा बुनाइ तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।

यो वर्षसमेत नगरपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको र सो बजेटबाट विद्यालयमा कम्प्युटर मर्मत तालिम सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । “विद्यार्थी फुर्सदको समयमा मोबाइलमात्रै चलाएर बस्ने र सीपविहीन बन्ने जोखिम बढ्दो छ, घरायसी सीप र संस्कारका कुरा पनि उनीहरूलाई सिकाउन जरुरी भइसकेको छ, हामीले पढ्दै सिक्दै कार्यक्रमलाई अभियानकै रूपमा नियमित सञ्चालन गर्ने योजना बनाएका छाँै”, वडाध्यक्ष खड्काले भन्नुभयो ।

विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजबाट खानाका परिकार बनाउने तालिम दिने तयारी गरेको विद्यालयले आगामी हिउँदयाममा छात्रा विद्यार्थीलाई लक्षित गरेर परालबाट गुन्द्री बुनाइ तालिम दिने योजना बनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा एक सय ९४ विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा रहेको बहिरा स्रोत कक्षामा १४ जनाले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय