latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

अन्नपूर्ण (कास्की), १५ भदौ : परापूर्वकालमा मानिसलाई जङ्गली जनावरले साह्रै दुःख दिन थाल्छ । जनावरमा पनि हिंस्रक मानिने बाघले औधी आक्रमण गर्छ ।

 

बस्तीमा बसिनसक्नु भएपछि न्यायको माग गर्दै जनता राजासमक्ष पुग्छ । राजाले सैनिक पठाएर रेकी गरी आफँैले बाघ मारेर जनतालाई खुसी दिन्छन् । यही कथामा आधारित रहेर पोखराका नेवार समुदायले लामो समयदेखि बाघजात्रा मनाउँदै आएका छन् ।

सोेही कथालाई बाघजात्रामा हुबहु उतार्ने कोसिस हुन्छ । जहाँ बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र जनतालगायत अन्य पात्र समावेश हुन्छन् । उनीहरु जात्रा देखाउँदै बजार परिक्रमा गर्छन् । जात्रा हेर्न गाउँ–गाउँबाट मानिस पोखरा झर्थे । जसले गर्दा दोहोरो व्यापार पनि हुन्थ्यो । जात्रा हेर्न गाउँबाट आउनेले राडीपाखी, डोको, नाम्लो, भकारीजस्ता सामान लिएर आउथे र त्यही बेची लत्ताकपडा, नुन, तेल लिएर घर फर्किन्थे ।

तर पोखरामा बाघजात्रा नभएको धेरै भयो । तेइस वर्षअघि २०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यस वर्षदेखि बाघजात्रा निरन्तरता दिइने भएको छ । यही भदौ १८ देखि २० सम्म जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति गठन भइसकेको छ ।

समितिका सचिव सुनिल उलकले भन्नुभयो, “यसको इतिहास दुई–तीन सय वर्ष पुरानो छ । तर हामीले बूढापाकालाई सोध्दा २००६ सालदेखिको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४ साल, २०२२–२३, २०३७–३८ र २०४६–४७ सालमा देखाइएको भेटिन्छ ।” अब यसलाई प्रत्येक छ वर्षमा आयोजना गरिने उहाँले बताउनुभयो ।

यसको सुरुआत पोखराबाट भएको अनुमान गर्न सकिने सचिव उलकले बताउनुभयो । “ठ्याक्कै तथ्याङ्क त छैन तर विभिन्न तथ्य आधारमा यहीबाट सुरुआत भएको हो कि भन्न सकिन्छ”, उहाँले भन्नुभयो, “यस्तै प्रकृतिको एकदिने जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत पश्चिम नेपालमा हुने गर्छ । यी सबै एउटै खालका छन् ।”

विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले बताउनुभयो । ‘जात्राहरूको पनि जात्रा’ बाघजात्रा जोगाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ । उहाँका अनुसार भदौ १८ गते नेवाः छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवाः छेमा समापन हुनेछ ।

भदौ १९ गते नेवाः छें हुँदै गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै नेवाः छेंमा पुग्नेछ भने समापनको दिन नेवाः छें हुँदै भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौँडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेर समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो दिन करिब तीन सयको हाराहारीमा सहभागी हुने भए पनि अन्तिम दिन अझ बढी सहभागी हुने सचिव सुनिल उलकको अनुमान छ । अन्तिम दिन बाघजात्राको कथामा आधारित प्रहसन हुने उहाँले बताउनुभयो । प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिनेछ । “किंवदन्तीअनुसार हिंस्रक बाघलाई मारेर सुख दिने कथा छ । अहिले कानुनले बाघ संरक्षण गर्ने भनेको छ तर नरभक्षी बाघ मार्न पाउने भनेको छ”, उहाँले भन्नुभयो, “प्रकृतिलाई फाइदा गर्ने बाघ नभई नरभक्षी बाघ मारेर देशमा हुने गरेको हिंसात्मक गतिविधि नियन्त्रण गनुपर्छ भन्ने हाम्रो सन्देश रहन्छ ।”

आयोजक समितिका सदस्य शान्ति श्रेष्ठ उदासले जात्रामा बाइसे–चौबीसे राजाको प्रतिमा झल्कने गरी भाँकीसमेत देखाइने बताउनुभयो । बाघजात्रामा नेवारसँगै मगर, गुरुङ, तामाङलगायत अन्य समुदायको पनि सहभागिता रहने सदस्य श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समूह)ले विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गर्ने छन् । लामो समयपछि हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवाः खलः कास्कीले सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय