काठमाडौं ।
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नयाँ सम्झौता गर्न तयार भएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि उनी सम्झौताका लागि तयार भएका हुन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए ।
त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए । अल्मुताइरी भने नेपाली टिमसँग फर्किएनन् । उनी माल्दिभ्सबाटै कतार गएका थिए ।
एन्फा अध्यक्ष पनि कतार पुगेर उनीसँग भेट गरे । कतार पुटबल संघसँग पनि छलफल गरेपछि उनले आफ्नै निर्णयलाई परिवर्तन गर्दै नेपाल आउने बताएका हुन् ।
तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’
अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । तर, अलमुताइरीले भने पटकपटक नेपाल छाड्ने बताएका थिए । उनले छिट्टै २ वर्षको योजना प्रस्तुत गर्ने बताएका छन् ।
नेपालले अब एसियान कप छनोटको तेस्रो चरण खेल्ने तालिका छ । यसबीच नेपालले मैत्रीपूर्ण म्याच खेल्ने सम्भावना पनि छ ।
उनको नेतृत्वमा नेपालले जेठमा इराकविरुद्ध मैत्रीपूर्ण खेल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेविरुद्ध विश्वकप तथा एसियन कप छनोटको समूह चरण खेल, भारतविरुद्ध भदौमा २ मैत्रीपूर्ण खेल र गत साता साफ च्याम्पियनसिपका ५ गरि ११ खेल खेलेको छ ।
यी हुन् अल्मुताइरी नेपाल फर्किनुको २ कारण
यसैबीच, प्रशिक्षक अल्मुताइरीले नेपाल फर्कनुको मुख्य २ कारण बताएका छन् । नेपालको चर्चित अनलाइन नेपालखबरसँगको कुराकानीमा उनले सो कारण खुलाएका हुन् ।
‘एउटा नेपालीले मलाई दिएको माया र अर्को कर्माजी र कतार फुटबल एसोसिएसनबाट आएको हरकुरामा सघाउने प्रतिबद्धता,’ अल्मुताइरीले भनेका छन् ।
उनले आफू र आफ्नो परिवारको लागि अन्य देशबाट राम्रो अफर आएको पनि उनले खुलासा गरेका छन् । ‘मलाई अन्य देशबाट पनि राम्रो अफर आएको थियो। तर यही दुई कुराले मात्र मैले नेपाल फर्किने निर्णय गरेँ,’ अल्मुताइरीले भने ।
नेपाली समर्थकबाट राम्रै साथ र सहयोग पाएकाले पनि आफू नेपाल फर्किन सहमत भएको उनले बताए ।
‘नेपाली समर्थकले मलाई देखाएको माया झूटो हैन’, उनले भनेका छन्, ‘यो मायालाई कुनै पैसाले किन्न सकिन्न । त्यसैले मैले नेपालसँग नै सम्झौता गरेँ ।’


