latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , कार्तिक १०, २०८३

गण्डकी, १ भदौ ः वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा रु २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् ।

 

रु ११ लाख ७४ हजार पाँच सय ६६ क्युफिट काठ, २८ सय ३२ चट्टा दाउरा र ८० हजार पाँच सय ८४ किलो जडीबुटी बिक्री भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार सोही अवधिमा मन्त्रालयले रु १३ करोड ४३ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । दण्ड–जरिवाना, काठ दाउरा, जडीबुटी, ठेक्का बिक्री आदिबाट उक्त राजस्व उठेको हो । वन पैदावार सङ्कलनबाट रु तीन लाख श्रम दिनभन्दा बढी रोजगारी सिर्जना भएको सचिव घिमिरले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वन पैदावारमा आधारित उद्योग विस्तार गर्ने सके उपभोक्ताको आयआर्जन बढ्ने बताउनुभयो । “हाम्रो वनमा भएका रुख कुहिएका छन् विदेशबाट महँगो काठ ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “जडीबुटी खेतीलाई पनि व्यावसायिक बनाउनुपर्ने अवस्था छ ।”

उहाँले वन क्षेत्रमा रहेका खाली जग्गामा फलफूलजन्य बोट बिरुवादेखि जडीबुटी खेती विस्तारमा राज्यले जोड दिनुपर्ने धारणा राख्नुभयो । “वनजन्य उत्पादनको संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि उचित नीति तथा कार्ययोजना ल्याउनुपर्छ”, सदस्य लामिछानेले भन्नुभयो, “यसले वन समूहलाई पनि बलियो बनाउँछ, अर्कातिर वन पैदावारबाट राजस्व पनि बढ्छ ।”

सामुदायिक वन समूहले गरेको आम्दानी सामुदायिक विकासमा नै खर्च हुँदै आएको छ । विपन्न समुदाय, वन विकास र सामुदायिक विकासमा लगानी हुने गरेको सदस्य लामिछानेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको वन विधेयकमा सामुदायिक वनबाट हुने आम्दानीको ३० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अव्यवहारिक रहेको वन समूहले जनाएका छन् ।

मन्त्रालयका सूचना अधिकारी सरोज पन्थीले अन्य प्रदेशमा निर्यात गर्न सक्ने गरी वन पैदावारको उत्पादन तथा सङ्कलन नभएको बताउनुभयो । जडीबुटी विकास कार्यक्रमअन्तर्गत गत आवमा रु दुई करोड ९० लाख खर्च भएको उहाँको भनाइ छ । वन पैदावारको संरक्षण तथा सदुपयोग गर्न ढलापडा काठदाउरा सङ्कलनको व्यवस्था, वनमा आधारित उद्योग र वन क्षेत्रको दूरी निर्धारणलगायत काम गरिएको सूचना अधिकारी पन्थीले जानकारी दिनुभयो ।

मन्त्रालयले गत आवमा छ दशमलव ०१ प्रतिशत वन अतिक्रमणसमेत नियन्त्रण गरेको जनाइएको छ । नौ वटा सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धनको काम गरिएको छ । ९२ पोखरी, नौ वटा सिँचाइ कुलो र ४७ वटा उद्यान निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

दुई सय २५ वटा सामुदायिक वन र ४२ वटा कबुलियती वनको कार्ययोजना नवीकरण गरिएको सूचना अधिकारी पन्थीले बताउनुभयो । मन्त्रालयले जलाधार तथा सिमसार व्यवस्थापन, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, ताल संरक्षण, वन अनुसन्धान, वातावरणको जगेर्नालगायत क्षेत्रमा काम गर्दै आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर