
ढोरपाटन (बागलुङ), ३२ साउन : पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहर/बजार पर्न थालेको छ ।
बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहनुभएको छ । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै हुनुहुन्थ्यो । पच्चीस वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाउनुभएका उहाँले १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ ।
पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गनुहुन्छ । उहाँको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बाट रहेका पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै बोटमा फल लागेका छन् ।
“कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ”, पोखरेलले भन्नुभयो, “बोटबाटै रू एक सयमा कागती बिक्री हुन्छ ।” उहाँले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताउनुभयो । यस वर्ष रू १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिनुभयो । कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उहाँले बताउनुभयो । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदै उहाँले यो बहुउपयोगी हुनेहुँदा धेरै ठाउँबाट माग आउने गरेको बताउनुभयो । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले सुनाउनुभयो ।
“हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नसक्ने, जाडो र गर्मी दुवै याममा खपत हुने भएकाले पनि बजारमा यसको माग धेरै छ”, उहाँले भन्नुभयो, “पहिले माग धेरै आएपछि उत्पादन बढाएको थिए । अहिले भनेअनुसारको बजार पाउन सकिरहेको छैन । उत्पादन भएका सबै कागतीले बजार पाउने हो भने यसबाट मात्रै लाखौँ कमाउन सकिन्छ ।”
पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एकदशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिकरुपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको सङ्ख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् ।