आगामी मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको हो ।

सोमबार बसेको आयोगको बैठकले आगामी मंसिरदेखिको विद्युत खपत र २०७८ पौष महिनादेखिको बिलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरेको छ ।

नयाँ विद्युत् दरअनुसार विपन्न वर्ग अर्थात् ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।

यस्तै सिङ्गल फेजबाट विद्युत् लिएर एक सय ५१ देखि दुई सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाइ प्रति युनिट नौ रुपैयाँ ५० पैसा कायम गरिएको छ । चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रति युनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ ।

मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई अहिले प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ ।

चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि अहिले कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।

ट्युबेल सञ्चालन गर्ने उपभोक्ता तथा सिँचाए उपभोक्ताका लागि अहिले रहेको महसुलमा ४० दशमलव ६९ प्रतिशत घटाइएको आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय