राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि ……
टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।

कालीदेवीले केही सोच्नै सक्नुभएन । हात्तीले उहाँको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, कालीदेवीले भन्नुभयो, “घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।”

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टीको ढोकाबाट उहाँको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडीतिरबाट आएको भए भाग्न सकिने थिएन् । “हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ”, उहाँले भन्नुभयो, “यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ । हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।”

कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजागारीका लागि भारतमा हुनुहुन्छ । परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताउनुभयो । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटकपटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने हरी स्थानीय सुनारले बताउनुभयो । “अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु ? त्रासमा पनि कसरी बस्ने होला ?”

हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उहाँले बताउनुभयो । क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

“हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ, उहाँले भन्नुभयो, “जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन् । क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर