latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

विशाल बस्नेत/न्युज कारखाना
महोत्तरी, १७ पुस

कात्तिकको पहिलो हप्ता मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका-२ का २४ वर्षीय विवेक यादवको घटनास्थलमै मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल चलाइरहेका विवेकको मात्र हैन, उनको पछाडि बसेका गौशाला नगरपालिका-४ रजखोरका कृष्ण यादवको पनि ज्यान गयो ।

त्यसको केही सातापछि सम्सी सडकखण्डमा तीव्र गतिकै सवारी चलाएका कारण बर्दिबास नगरपालिका-१४ का २२ वर्षीय अन्जान बलाम्पाकीले ज्यान गुमाए ।

उनीहरु जस्तै युवावस्थामै ज्यान गुमाउनेको शृंखला रोकिएको छैन । कात्तिक र मंसिरमा महोत्तरीमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीको अनुसार २०२ जना घाइते बनेका छन् । कात्तिक र मंसिरमा साना र ठूला गरी १४० वटा दुर्घटना भएका छन्।

जिल्लामा मुख्य राजमार्गमा भन्दा भित्री सडकमै दुर्घटना बढी हुने गरेको पाइएको छ । पछिल्लो दुई महिनाको अवधिमा भित्री सडकमा १३ जनाको ज्यान गएको छ । बाँकी तीनजनाको मुख्य राजमार्गमा दुर्घटना हुँदा ज्यान गएको हो ।

बाइक दुर्घटनामा परेर मृत्यु हुनेमा प्रायः युवा छन् । प्रहरीका अनुसार तीव्र गति र मादक पदार्थसमेत प्रयोग गरेर चलाउने भएकाले दुर्घटनाको मुख्य कारक बनेको जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख उदयसिंह सिँजापतिले जानकारी दिए ।

दुर्घटना न्यूनीकरण हुन नसकेपछि प्रहरीले कारबाही प्रक्रियालाई सक्रिय बनाएको छ । पछिल्लो दुई महिनामा मात्र ६ हजार १५० सवारी कारबाहीमा परेका छन् । जसमध्ये धेरैजसो तीव्र गतिमा सवार चालकलाई कारबाही गरिएको छ । कात्तिकमा २८ सय ५० र मंसिरमा ३३ सयलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।
यो अवधिमा ४६ लाखभन्दा बढी राजस्व नै उठेको प्रमुख सिँजापतिले जानकारी दिए । ‘पहिले पहिले औरही सडकखण्डमा कम दुर्घटना हुन्थ्यो । किनभने त्यहाँ सडक कच्ची थियो । जसले गर्दा जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर जाँदा पनि सम्सी सडकखण्ड प्रयोग गर्थे,’ उनले भने । हिजोआज उत्तरी क्षेत्रका वासिन्दा औरही सडकखण्ड नै अधिक प्रयोग गर्ने गर्दछन्, जसले दुर्घटनाको संख्या वृद्धि भएको प्रहरीको बुझाइ छ ।

भित्री सडकहरु पक्की बनेसँगै ट्राफिक प्रहरीहरुको व्यस्तता पनि निक्कै बढेको छ । आगामी दिनमा औरही सडकखण्डको सडक पक्की बनेपछि जनशक्तिको समेत अभाव हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सम्सी सडकखण्डमा त दैनिकजसो नै दुर्घटना हुने गर्दछ । सम्सी नाका र जलेश्वर जानेहरुले अहिले पनि यही सडक प्रयोग गर्दछन्। दुवै भित्री सडक होस् या मुख्य राजमार्ग दुर्घटनाको मुख्य कारक तीव्र गति र मादक पदार्थ सेवन गरेर चलाउनु नै रहेको प्रहरीको निष्कर्ष छ । जिल्लामा दुर्घटनाका संख्या बढ्न थालेपछि ट्राफिक कार्यालयले समुदायस्तरमा अहिले जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय