
काठमाडौँ — जनता समाजवादी पार्टीका निलम्बित सांसद् रेशम चौधरीलाई निर्वाचन आयोगमा झिकाइएको छ । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो ।
आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता दिन सनाखतको काम गरिरहेको छ । सांसद् चौधरी उपेन्द्र यादव पक्षसँग खुलेका छन् ।टीकापुर घट्नामा मुख्य दोषी ठहर गर्दै अदालतले सांसद चौधरीले जन्मकैदको फैसला सुनाएको छ ।
जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । बहुमत पुर्याउने पक्षलाई आयोगले आधिकारिकता दिँदै छ । जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतका लागि ५ बजेसम्मकाे समय आयाेगले दिएकाे छ ।
अहिलेसम्म ५० जनाले सनाखत गरिसकेका छन् । रेशम चाैधरीले सनाखत गरेपछि निर्वाचन आयोगले निर्णय सुनाउने तयारी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।[][]