latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कर्णाली प्रदेशकाे पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड
हेमन्त केसी/

सुर्खेत , ५ भदौ

पदाधिकारी र कर्मचारीका लागि कर्णाली प्रदेशले वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/ ०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिक १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै, अन्य सेवा सुविधा भत्ता, पोशाक लगायतका नौ वटा शीर्षकमा ३६ करोड ७९ लाख २१ हजार ४४१ रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पदाधिकारीहरूको पारिश्रमिक भन्दा कर्मचारीको पारिश्रमिकमा बढी रकम खर्च हुने गरेको छ । गत आवमा कर्मचारीको पारिश्रमिकमा मात्रै १ अर्ब १ करोड ७ लाख ९० हजार ३६२ रुपैयाँ सकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार अहिले आठवटा मन्त्रालय, प्रदेशसभा सचिवालय र मातहतका कार्यालयमा गरी १ हजार ७२२ जना कर्मचारी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा २ हजार ८६२ कर्मचारीको दरबन्दी छ । तर दरबन्दीभन्दा न्यून कर्मचारी कार्यरत छन् ।

यस्तै, समीक्षा अवधिमा प्रदेश सरकारका पदाधिकारीहरूको पारिश्रमिकमा ४ करोड ६ लाख ७१ हजार ६६० रुपैयाँ खर्च भएको छ । मुख्यमन्त्री, ७ वटा मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, योजना आयोगका पदाधिकारीहरूको पारिश्रमिकमा उक्त रकम खर्च भएको हो ।

पदाधिकारीको बैठक भत्तामा मात्रै एक वर्षमा १३ लाख २३ हजार ५०० भन्दा बढी रकम सकिएको छ भने पदाधिकारीको अन्य सुविधामा १ करोड ८७ लाख ५५ लाख १२० र अन्य भत्तामा २१ लाख ५५ हजार ८९९ रुपैयाँ खर्च भएको छ ।

पदाधिकारीको सुविधा अन्तर्गत मुख्यमन्त्रीले अतिथि सत्कार स्वरुप मात्रै २० हजार, मन्त्रीले १५ हजार पाउने गरेका छन् । विदेश भ्रमणमा जाँदा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर र मन्त्रीहरुले २ सय अमेरिकी डलर पाउने व्यवस्था गरिएको छ ।

यस्तै सभामुखले अब ३५ सय सञ्चार खर्च पाउँछन् भने विपक्षी दलका नेता र उपसभामुखले ३४ सय, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेशसभा सदस्यले तीन हजारका दरले मासिक सुविधा पाउने छन् ।

लेखा नियन्त्रक मानबहादुर बमका अनुसार गत एक वर्षमा पोसाकमा मात्र २ करोड ४० लाख ९१ हजार ६०० रुपैयाँ खर्च भएको छ । उनका अनुसार प्रति कर्मचारीले वर्षमा १० हजार पोशाकका लागि रकम पाउँछन् । यस्तै स्थानीय भत्ता बापत ७ करोड ४९ लाख ४३ हजार १०२ रकम खर्च भएको छ भने महँगी भत्ता बापत ४ करोड ९ लाख २१ हजार ६५० रुपैयाँ सकिएको छ ।

एक वर्षमा कर्मचारीको बैठक भत्तामै ८२ लाख ३८ हजार ७७२ रुपैयाँ सकिएको छ भने कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा १५ करोड २० लाख ६९ हजार ७१४ र अन्य भत्तामा ४ करोड १४ लाख २२ हजार १८४ रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय