latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् ।

दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ ।

२० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् ।

‘हात्ती बिरामी भएको पाँच महिना भइसक्यो । बेच्नेले जिम्मा नलिने र सरकारी पक्षबाट निकुञ्जले पनि जिम्मा नलिएपछि कुनै परीक्षण नै भएन’, उनी भन्छन्, ‘अहिलेसम्म के रोग लागेको हो भन्ने नै थाहा छैन । एक महिनामा मात्रै तीन पटक लड्यो । अहिले मर्न लागेपछि सामान्य प्राथमिक उपचार मात्रै गरिएको छ ।’

दर्ता भएका बन्दी हात्तीहरूको नामावलीमा काजलकलीको नाम नै नभएको उनले बताए । छ महिनाअगाडि उक्त हात्तीलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो ।

सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले सो हात्ती सौराहाका व्यवसायी मधुकर रेग्मीको भएको पुष्टि गरे । रेग्मीले भारतका व्यापारीलाई बिक्री गरेपछि हात्ती सिमानाबाट फिर्ता ल्याइएको हो । निकुञ्जले बिरामी हात्तीको निगरानी गरिरहेको उनको भनाइ छ ।

रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । भीमकाय शरिर भएको हात्ती तीन पटकसम्म ढल्दा उसको शरीर घाउले भरिएको छ । काजलकलीको नेपाली साहु खोजेर उसलाई कारबाही गर्न पशु अधिकारकर्मी श्रेष्ठले माग गरेका छन् ।

‘एउटा बिन्ती छ कि, सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । अनि उक्त व्यक्तिलाई कानूनी दायरामा ल्याएर सजाय दिइयोस्’, उनले भने ।

सौराहामा वन्यजन्तुको उपचार गर्न छुट्टै अस्पताल निर्माण गरिएको छ । उक्त अस्पतालबाट करिब आधा किमीको दूरीमा रहेको काजलकली भने उपचार नपाएर मर्नु दुःखद भएको उनी बताउँछन् ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय