latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

बेनी बजार संरक्षण योजनाको काम रातमा पनि
बाढी र कटानको उच्च जोखिममा रहेको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गर्न थालिएको छ । नदीमा पानीको सतह बढ्नुअघि नै किनारमा पक्की पर्खाललगायत संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा फरकफरक तीन समूहमा मजदुर र उपकरण परिचालन गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्ध सुरु गरेको थियो ।

परियोजना प्रमुख विदुरमान श्रेष्ठले सुरु भएको काम बर्खा नलाग्दै सक्ने गरी रातमा पनि नदी किनारमा पर्खाल निर्माणको काम गरिएको जानकारी दिनुभयो । “बजेटको स्रोत सुनिश्चितता र ठेक्का प्रक्रिया पूरा गर्न छ महिना लाग्यो”, उहाँले भन्नुभयो, “सम्झौता लगत्तै सुरु भएको कामलाई पूर्णता दिएर बजारलाई सुरक्षित र लगानीलाई उपलब्धिमूलक बनाउन तीन सिफ्टमा काम गराएका हौँ ।”
परियोजनाका प्राविधिकको नियमित उपस्थिति र निगरानीमा पर्खाल ढलानको काम भइरहेको छ । बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो साता रु नौ करोड ४५ लाखको लागमा रौताह–बिएनबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्की र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम करिब ४० प्रतिशत सकिएको छ ।

चार मिटर फराकिलो जगदेखि दुई मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको छ । जगमा आसिसी गरिने र कम्पोजिट पर्खालको माथिल्लो पाँच मिटर भागमा ग्यावियन पर्खाल बनाइनेछ । सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी नदी किनारमा करिब १६८ मिटर आरसिसी पर्खाल निर्माण यसपाली सम्भव नभएकाले त्यहाँ बर्खाको बाढी नियन्त्रणका लागि वैकल्पिक अस्थायी संरचना बनाउने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताउनुभयो ।

“मङ््गलाघाट र कालीपुलमा नदीको सतहभन्दा माथिसम्म ढलान सकिएको छ”, उहाँले भन्नुभयो, “कालीगण्डकीको डाइभर्सन गराउन लाग्दा विवाद भएकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध निर्माण गर्न नसकिएको हुँदा बर्खाको बाढी रोक्न अस्थायी संरचनाको विकल्प प्रस्ताव गरेका छौँ ।”

जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा रहेको बेनी बजारमा एक हजारभन्दा बढी घरधुरीको बसोबास छ । परियोजनाले गत वर्ष म्याग्दी बेनीतर्फ रु तीन करोड र पर्वत बेनीतर्फ रु दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो । यसपाली पर्वततर्फ बगरफाँटमा २० मिटर र बारीबेनीमा ४२ मिटर कम्पोजिट पर्खाल निर्माणको काम भइरहेको परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय