बिहिबार , जेठ २१, २०८३

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला
पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् ।

फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
–––

मोरङमा ६६ हजार मतदाता थपिए
मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिङ्गी दुई मतदाता थिए ।

आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रङ्गेलीमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो । विसं २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिङ्गी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।

आयोगले मतदाता नामावली विशेष सङ्कलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मङ्सिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाइ नामावली सङ्कलन गरिएको थियो । सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए । निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन जारी रहने अधिकारीले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर