मकवानपुर, १९ चैत : सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच बजेटमाथिको विवाद टुङ्गो नलागेका कारण आज दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साँझ ७ बजेतिर सूचना टाँसेर स्थगित भएको छ ।

https://youtu.be/y_wmf3Nlsas

प्रदेशसभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको हो । आज दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । ४ बजे आह्वान गरिएको बैठक बस्ने अवस्था नरहेपछि साँझ ७ बजे सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको हो ।

आज बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठकपछिको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने अडान राख्दै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदै आएका थिए । मङ्गलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख पाठकले बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । दलहरूबीचको लामो छलफलपश्चात् बेलुकी ७ बजेसम्म पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

सरकार र प्रतिपक्षबीच विगतमा भएका सहमति कार्यान्वयनका लागि प्रतिपक्षीले जोड दिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापाले बताउनुभयो ।

केही समयअघि बागमती प्रदेशका सहकारीमन्त्री मदुकुमार श्रेष्ठका स्वकीयको आत्महत्याको विषय छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग प्रतिपक्ष दल एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बताउनुभयो ।

प्रदेशसभा सभामुख पाठकका अनुसार दलहरूबीच विगतको बजेटमाथिको सहमतिका विषय समेट्ने सहमति बनेको र सोहीअनुसार बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेशसभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको थियो ।

विधेयकका प्रतिवेदनहरूलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूची राखेर बैठक सञ्चालन गरिने सभामुख पाठकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय