latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ, ७ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताउनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा राससमा आबद्ध व्यवस्थापक, पत्रकार÷कर्मचारी तथा सम्बद्ध सेवाग्राहीमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यसको कानुनी र संरचनात्मक सुधार एवं थप श्रीवृद्धिका लागि गर्नुपर्ने सहजीकरणका लागि सरकारले आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो समाचारका माध्यमबाट आमजनतालाई सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्दै गएको महसुस भएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “सूचना–प्रविधिको व्यापकतासँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससले आरम्भ गरेको श्रव्यदृष्य सेवा, मातृभाषा समाचार सेवा, सांसदसँग रासस संवाद, आलेख÷विचार आदि सेवाको विविधिकरणका कार्यले यसको औचित्य थप स्थापित हुँदै गएको मान्न सकिन्छ ।”

मुलुकको हरेक राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा एक साक्षीका रुपमा राससले विगतदेखि खेल्दै आएको भूमिकालाई वर्तमान समय सुहाउँदो बनाउनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले राससले सेवा प्रवाहमा छिटो छरितोपना, व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै आमजनता र सरकारबीच सेतुको भूमिका निर्वाहमा आफूलाई अझै अब्बल सावित गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।

“भ्रामक र मिथ्या सूचना–समाचारले समाजमा एक प्रकारको विद्वेष र विवाद सिर्जना गरी सामाजिक अराजकता र अस्थिरता मच्याउने कोसिस भइरहेका सन्दर्भमा त्यसलाई चिरेर जनतालाई सही सूचना प्रवाह गर्न रासस जस्ता समाचार संस्थाले आफूलाई अग्रणी रुपमा प्रस्तुत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार विकास, समृद्धि र स्थिरताका लागि बनेको प्रष्ट पार्दै सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको उल्लेख गर्नुभएको छ । “यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो । अघिल्लो पटक सुरु भएका विकास निर्माणका काम अहिले अगाडि बढिरहेका छन्”, उहाँले भन्नुभएको छ । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान रहेको प्रष्ट पार्दै उहाँले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहार सिद्ध रहेको बताउनुभएको छ ।

प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्ने गरी जिम्मेवार भूमिका खेल्न सक्नुपर्ने उहाँको भनाइ छ । “अहिलेको सरकारले राष्ट्रको अभिभारा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ, यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदअनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ”, उहाँले भन्नुभएको छ ।

राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न राससले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय