बिहिबार , जेठ २१, २०८३

काठमाडौँ, ७ भदौ ः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

 

उहाँहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको हो ।

बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो । यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद डोलप्रसाद अर्यालले हालै सरकारले श्रमिकको न्यूनतम पारश्रमिक बढाएको बारेमा केही औद्योगिक व्यवसायीले बढेको सो पारिश्रमिक दिन नसकिने भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

सांसद तेजुलाल चौधरी टीकापुर घटनाको लामो समय भए पनि सो घटनाका केही निर्दाेष व्यक्ति अझै पनि लुकेर बस्नु परेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभयो । सांसद दामोदर भण्डारीले बाढी पहिरोले बाटाहरु अवरुद्ध भएको, लम्की स्किनको प्रकोप भयावह फैलिएको, वन्यजन्तुले बालीनाली सखाप गरेकोलगायत सवालामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिपा शर्माले शिक्षा क्षेत्रमा विभिन्न सुधारका माग राखी माइतीघर मण्डलामा लामो समयदेखि अनशन भइरहेको भए पनि सरकार बेखबर जस्तो देखिएको जनाउँदै बन्द भएका सिटिइभिटीअन्तर्गतका कलेज खुलाउन माग गर्नुभयो । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको हाल बन्द अवस्थामा रहेको श्रीराम सुगरमिल किसानको हितका लागि भएपनि यथाशीघ्र सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद धनबहादुर बुढाले डोल्पाको उत्तरी क्षेत्रका नाकामा हाटबजार मेला लाग्दै आएको भए पनि कोभिडका कारण विगत पाँच वर्षदेखि बन्द रहेकाले सो स्थानमा दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामग्रीको अभाव भएको र नाका खुलाउन माग गर्नुभयो ।

सांसद धवलशम्शेर जबराले नेपालगञ्जमा खेलकुदको पूर्वाधारमा कमी भएको, कपास विकास समिति अलपत्र भएका, नर्सिङ कलेजलाई भर्ना गर्न नदिएको बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद ध्रुवबहादुर प्रधानले उद्योगमा सबैभन्दा बढी राजस्व तिर्ने नवलपरासी पश्चिमका जनता आर्सनिक खानेपानी खान बाध्य भएको बताउँदै शुद्ध खानेपानी उपलब्ध गराउन माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर