latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बिहिबार , साउन १४, २०८३

ढोरपाटन (बागलुङ), ३१ साउनः बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ ।

 

तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् ।

करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो । गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन् । उनीहरु यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन् । बुकीमा एउटा पनि धारा छैन । गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ ।

तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् । बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरुका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो । गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

“स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ”, उहाँले भन्नुभयो । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

“गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो ।

स्वास्थ्य शिविरका लागि बुकी पुग्नुभएका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताउनुभयो । केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उहाँको भनाइ छ । अध्यक्ष बुढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरुले एक सय बढी गोठालाको स्वास्थ्य उपचार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय