
काठमाडौं । नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुलिखेल जिपलाइनमा जिपलाइन खेलेपछि भीडभाड वढेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले साहसिक खेल जिपलाइनको मज्जा लिएपछि अहिले धुलिखेलमा जिपलाइन गर्नेहरुको ‘ओइरो’ नै लागेको हो । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले गत शुक्रबार क्लासिक जिपलाइनको मज्जा लिएका थिए । प्रचण्डले जिपलाइन गरेपछि उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा भाईरल नै भएका थिए ।
यसरी प्रचण्ड पुगेपछि अहिले जिपलाइन गर्नेको संख्यामा वृद्वि भएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले नयाँपुस्तालाई बताए । थापाका अनुसार प्रचण्ड पुग्नुअघि दिनका ८–१० जनाले मात्र जिपलाइन खेल्ने गरेको भएपनि त्यसपछिका दिनमा त्यो संख्या वढेर २५–३० जना सम्मले जिपलाइन गरेका छन् ।
यसरी जिपलाइन गर्नेहरुको संख्यामा वढेसँगै आफूहरु उत्साहित बनेको थापाले बताए । काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।
जहाँ क्लासिक, सुपरम्यान र टेण्डम जिपलाइनको मज्जा लिन सकिन्छ । जहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।