
ओलीले आज जे बोले गज्जबकै बोले, यो भाषण इतिहासले सम्झिरहनेछ !
ओलीले आज जे बोले गज्जबकै बोले, यो भाषण इतिहासले सम्झिरहनेछ !
‘एकजना माननीयले नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर सोध्नुभयो’– प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भन्नुभयो, त्यसपछि अगाडि भन्नुभयो– ‘भरखरै सुन्नुभयो नि, मैले नै भनेको । त्यो त मैले नै भनेको हो । ’
त्यसपछि प्रतिनिधि सभा बैठकमा सांसद्हरु दङग परेर हासे अनि टेबल ठटाएर ताली बजाए ।
प्रधानमन्त्रीले बोल्ने क्रममा नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको बताउनुभएको थियो । उहाँको मन्तव्यपछि कांग्रेस सांसद् गगन थापाले स्पष्टिकरण सोध्नुभएको थियो– ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर कसले भन्यो रु’
जवाफमा प्रधानमन्त्रीले ‘मैले भनेको’ भनेर सटीक जवाफ दिनुभयो । त्यसपछि प्रधानमन्त्री ओलीले नेपालीको स्वास्थ्य, नेपालको गौरव र नेपालको विशेषता बारे शानदार ढंगले ब्याख्यान दिनुभयो ।
प्रधानमन्त्री ओली नेपालको इतिहास, संस्कृति, प्रकृति र अवस्थितिबारेमा गर्वपूर्ण अभिव्यक्ति दिइरहनुहुन्छ । उहाँले आज प्रतिनिधि सभामा नेपालको गौरवबारे जे ब्याख्यान दिनुभयो त्यो अपूर्व थियो ।
प्रधानमन्त्रीको ब्याख्यानको मुख्य अंश
नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, कुनै वैज्ञानिक, कुनै शोधकर्ताबाट आयो भने म स्वीकारौंला ।
आधा नेपाली हिमाली भेगको स्वच्छ हावापानीमा उकाली ओरोली गरेर बसेको छ । स्टामिना बलियो छ । तराईमा बस्नेहरुको पनि हिमालबाट ठोक्किएर आएको हावा खाएको छ ।
हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । मरुभूमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नु अघि नै कायल हुन्छ, चीसो हुन्छ । हिमालसँग ठोक्किँदा वरफ भएर पग्लिने अवस्था हुन्छ । त्यो हावामा शास फेरेका छन् नेपालीले ।
झार उम्रियो भने यार्चागुम्बा हुने देश हो । यो देशमा ढुंगाबाट शिलाजित निस्कन्छ । माटोबाट सिम्रिक निस्कने देश हो । यो जडिबुटीको देश हो, औषधीको देश हो । यस देशको पानी हिउँबाट, हिमालमाथि बसेर, त्यहाँबाट पग्लिएर अनेक मिनरल तत्वहरुसँग खेल्दै तल रसाएर निस्किएको पानी हुन्छ ।
यो उकाली ओराली गर्ने, परिश्रम गर्ने, शारीरिक श्रम गर्नेको देश हो । जहाँ योगको परम्परा छ, व्यायामको परम्परा छ । यो देशमा योग पैदा भयो । यो देशमा इम्युन सिस्टम तगडा छ भन्ने स्वत सिद्ध छ ।
म विनम्रतासाथ भन्छु, कसैलाई धक्का नपर्ने गरी । नेपालीको भान्सामा पाउरोटीमा बटर दलेर खाँदैनन् । यहाँ दाल, चामल, मकै, भटमास अनेक चिज हुन्छ । बेसार अनिवार्य हुन्छ, नुन खुर्सानी अनिवार्य हुन्छ । जिरा, धनिया, प्याज, लुसुन, अदुवा सबै औषधी हुन् । हरेक दिन औषधी खाएर प्रतिरोध क्षमता बढाएको नेपालीको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वत सिद्ध छ । तसर्थ नेपालीको प्रतिरोध क्षमता राम्रो छ, अवश्य राम्रो छ र हामीले यो परम्परालाई जनताको बीचमा पनि लानुपर्छ ।
हाम्रो परम्परागत खानेकुराहरु, भान्साको तरिकामा हामी कायम रहनुपर्छ । नयाँ शैली भनेर पिज्जातिर कुद्नुभन्दा ढिंडो र अँचार नै ठिक छ, साग नै ठिक छ ।
हामीले दिएको नारा निरोगी नेपाल हो । उपचार दोस्रो पक्ष हो । पहिलो पक्ष भनेको निरोगीपन हो, आरोग्यता हो । त्यसका लागि सन्तुलित र औषधीमय खाना चाहिन्छ जो हामीले खाने गरेका छौं । यो नै निरोगीपनको एउटा आधार हो । दोस्रो– शारीरिक श्रम हो । तेस्रो– पर्याप्त आराम हो । ऋषिमुनीहरु आहार, विहार आराम भन्छन् । ऋषिमुनीहरुको व्याख्यामा हामीले सकारात्मक सोचहरुको साथ अगाडि जानुपर्छ ।
उच्च मनोबल राख्नुपर्छ, रोग पराजित गर्न सक्छौं भन्ने उच्च मनोबल राख्नुपर्छ । स्वच्छ सफा बातावरणमा बस्नुपर्छ । यसले निरोगी रहन मद्दत गर्छ ।
अहिले विज्ञान भन्छ– बासी नखाउ, फ्रिजको नखाउ ताजा खाउ, हामी ताजा खानेकुरा पकाएर खान्छौं ।
म नम्र निवेदन गर्न चाहन्छु– नेपालको सबै नराम्रो, नेपालको खानेकुरा पनि नराम्रो, नेपालको बाजा पनि नराम्रो, गीत पनि नराम्रो । यसो होइन । सबैतिरको भन्दा नेपालको खाना पनि राम्रो, बाजा पनि राम्रो, गीत पनि राम्रो, दोहोरी पनि राम्रो, रोदीघर पनि राम्रो, नेपालकै राम्रो । नेपालकै राम्रो ।
हात मिलाउनेभन्दा नमस्ते राम्रो भन्ने थाहा भइसक्यो अहिले । हामी पनि हात मिलाउनेमा गइसकेका थियौं, हाम्रा पुर्खाले भनेको नमस्कार नै ठिक रहेछ ।
कतिपय वेठिक कुरा छन् भने छाडौं नत्र यी कुरातर्फ ध्यान दिउँ भन्ने मेरो आग्रह हो ।
हाम्रा पुर्खाले हजारौं वर्ष लगाएर खोज अध्ययन गरेका हुन् । हाम्रा पुर्खाले नचाखेको कुनै पात छैन होला । हाम्रा पुर्खाले नचाखेको कुनै फूल, बोक्रा, लहरा, जरा छैन होला । कुनै औषधी हो, कुन विख हो, कुनको पात ठिक हुन्छ, कुनको मुन्टा पिसेर लगाउँदा के ठिक हुन्छ भन्ने हाम्रा पुर्खाले अनुसन्धान गरे । ती कुरा हामीले छाड्न हुँदैन । त्यसैले आयुर्वेद होमियोप्याथी महत्वपूर्ण र मूल्यवान छन्, यसको विकास गर्नुपर्छ ।