
आयस्रोत नहुँदा वृद्धाश्रम सञ्चालनमा समस्या
रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सञ्चालित वृद्धाश्रममा आर्थिक अभाव भएको छ । श्री सत्यसाई वृद्ध सेवा आश्रमको नाममा वृद्धहरूलाई सेवा दिइरहेको यो वृद्धाश्रमको स्थायी आम्दानीको स्रोत नहुँदा सञ्चालनमा समस्या देखिएको हो ।
विसं २०५९ मा स्थापना भएको वृद्धाश्रममा नेपालका धेरै जिल्लाका वृद्धवृद्धा आश्रयका लागि यहाँ आउने गरेका छन् । आश्रम व्यवस्थापन शाखाका अनुसार सरदर ३० जनाको क्षमता रहेको आश्रममा हाल नौ आमा र पाँच बुवा गरी जम्मा १४ जनाले आश्रय लिइरहेका छन् । परिवारबाट अपहेलित भई वृद्धाश्रममा आउने आमाबुवाको पालनपोषणका लागि हाल आश्रममा तीन कर्मचारी र केही स्वंयसेवक खटिए पनि आर्थिक अभाव टार्नका लागि आर्थिक स्रोत कमजोर रहेको आश्रम सञ्चालक समितिले जनाएको छ ।
मासिकरूपमा दूध, तरकारी, ग्यास, विद्युत् र पानीको खर्च मात्र रु ३५ देखि रु ४० हजारसम्म हुने भन्दै वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष माया खरालले अन्य खाद्यान्न स्थानीय र सङ्घसंस्थाको सहयोगमा चलेको जानकारी दिनुभयो । वृद्धाश्रम सञ्चालनका लागि जिन्सी र खाद्यान्न सामान स्थानीयवासी र सङ्घसंस्थाले सहयोग गर्ने गरे पनि आर्थिक सहयोग भने सधैँ अभाव रहेको वृद्धाश्रम सञ्चालक समितिले जनाएको छ ।
वृद्धाश्रममा आश्रय लिनुभएका आमाबुवाका लागि मासिकरूपमा स्वास्थ्योपचार गर्नसमेत स्थायी व्यवस्था नहुँदा प्रायः दाताहरूलाई गुहार्नुपरेको आश्रम व्यवस्थापक केशव पौडेलले बताउनुहुन्छ । वृद्ध अवस्थामा समाजले समेत वास्ता नगर्दा वृद्धाश्रममा पुग्ने वृद्ध आमाबुवाको आश्रमलाई स्थानीय सरकार तथा प्रदेश र केन्द्रीय सरकारले समेत चासो दिएको छैन । वृद्धाश्रममा आश्रय लिइरहेकी ७५ वर्षीया वृद्ध आमा रानी खाँणले भन्नुभयो, “परिवारमा आमाबुवा वृद्ध भइसकेपछि उहाँहरूलाई घृणाको दृष्टिले हेर्ने छोराछोरीलाई समेत कर्तव्य र संस्कार सिकाउनु आवश्यक छ ।”
खाँण भन्नुहुन्छ, “वृद्धहरू केवल बाँच्नका लागि मात्र वृद्धाश्रममा आउने गरेका छन् । उहाँहरूको नयाँ सोच तथा जाँगर हुँदैन । बचाउने काम राज्यको हुनुपर्दछ ।” मानिस जन्मेपछि मृत्यु अवश्य छ । बच्चा, युवा र वृद्धावस्था हुनु प्रकृतिको नियम हो । सबै मानिसको चक्र जन्म र मृत्यु हो । सरकारले पनि व्यवस्थित वृद्धाश्रमको सञ्चालन तथा सङ्घसंस्थाबाट सञ्चालनमा रहेका यस्ता आश्रमको अनुगमन र रेखदेख गर्नुपर्ने वृद्धवृद्धा बताउँछन् ।
समितिका अध्यक्ष खरालका अनुसार नेपालमा पछिल्लो चरणमा समाजमा वृद्धहरूको रेखदेख र व्यवस्थापनमा समस्या देखिएको छ । वृद्धावस्थामा पुगेपछि घरमा परिवारका सदस्यबाट अपहेलित हुनुपर्ने र वृद्धाश्रममा राज्यको नजर नपुग्नु दुर्भाग्य छ । यसका लागि समाज रुपान्तरणसँगै मानिसले बाँच्न पाउने अधिकारको संरक्षण गर्नु र वृद्ध भइसकेका मानिसका लागि छोराछोरीले पालनपोषण गर्नु पर्दछ । वृद्धावस्थामा सहाराविहीन भएका आमाबुवाका लागि राज्यले उनीहरूका रेखदेख र सुरक्षा गर्नु आजको आवश्यकता देखिन्छ । यहाँ सञ्चालित श्री सत्यसाई वृद्ध सेवा आश्रमलाई पनि स्थानीय र सङ्घसस्थाका साथै राज्य तहबाट पनि सहयोग हुनुपर्दछ ।
–––