भरतपुर (चितवन) २६ पुस : चितवनको कालिका नगरपालिका–१० टँुडिखेलकी सिर्जना चेपाङको घरमा प्रायःजसो बिहान समयमा खाना पाक्दैन । उहाँलाई घरमा पकाएको खाने कुरा कुर्नुभन्दा विद्यालयमा पुग्न हतार हुन्छ । विद्यालयमा दिइने खाजाले उहाँलाई आकर्षित गर्ने गरेको छ ।

भिडिओ रिपोर्ट

विद्यालयमा खान पाइने भएपछि घरबाट भोकै भए पनि विद्यालय आउने गरेको सृजनाले सुनाउनुभयो । उहाँ कालिका–१० लोतंतीमा रहेको आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत हुनुहुन्छ । “हाम्रो आठजनाको परिवार हो”, उहाँले भन्नुभयो, “बाआमा बिहानैदेखि काम गर्न र खानेकुरा जुटाउन जानुहुन्छ, समयमै खान पाइँदैन ।” बिहान कहिल्यै समयमा खाना नपाकेको भन्दै उहाँले बेलुका भने नियमित खाने गरेको बताउनुभयो ।

उहाँले धेरैजसो भोकै विद्यालय आउने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत कविता चेपाङले घरमा आमाले खानेकुरा नपाएका कारण भोकै विद्यालय आएको बताउनुभयो । उहाँ खाजा खान पाइने भएका कारण समयमै स्कुल आउने गरेको बताउनुहुन्छ । “घरमा खाना पाक्दै थियो, विद्यालय आउन ढिला हुने भएकाले नखाइकन आएँ”, उहाँले भन्नुभयो । शिशु कक्षामा पढ्ने विकास चेपाङले पनि खाना नखाई विद्यालय आएको बताउनुभयो ।

सिर्जना, कविता र विकासमात्र होइन, विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी यसरी नै भोकभोकै विद्यालय आउने गरेका छन् । यस विद्यालयमा सबै चेपाङ बालबालिका अध्ययनरत छन् । उनीहरूलाई विद्यालयसम्म दिवा खाजाले आकर्षित गरिरहेको छ । शिशुदेखि कक्षा ३ सम्म पढाइने यस स्कुलमा ६० विद्यार्थी भर्ना भएका थिए । “तीन विद्यार्थी अन्य विद्यालयमा गए”, विद्यालयका प्रधानाध्यापक भीमबहादुर तामाङले भन्नुभयो, “५७ बालबालिका अहिले अध्ययनरत छन् ।”

चेपाङ समुदायमा आर्थिक अवस्थाका कारण खानाका लागि नै धौधौ रहेको भन्दै उहाँले कतिपय विद्यार्थी खाजा खानकै लागि आउने गरेको अनुभव सुनाउनुभयो । “घरमा खान पाइएन भन्दै बालबालिका भोकभोकै विद्यालय आउँछन्”, उहाँले भन्नुभयो, “दिउँसो १ बजेपछि दिइने खाजा कहिलेकाहीँ १२ बजे नै दिने गरेका छौँ, खाजा नहुने हो भने चेपाङ बालबालिकालाई एक दिन पनि विद्यालय टिकाउन गाह्रो हुने देखिन्छ ।” उहाँले बालबालिकालाई समयमै खुवाएर स्कुल पठाउन अभिभावकलाई भन्ने गरेको भए पनि उनीहरूको पारिवारिक र आर्थिक अवस्थाले सम्भव नभएको बताउनुभयो । यस क्षेत्रका लोतंती, टुँडिखेल, जौगैरा, छ्यासलिङलगायतका ठाउँबाट पढ्नका लागि चेपाङ बालबालिका यस विद्यालयमा आउने गरेका छन् । “साना–साना बालबालिका एक घण्टासम्म हिँडेर अध्ययनका लागि आउँछन्”, प्रअ तामाङले भन्नुभयो, “कक्षा ३ पास गरेपछि कालिका आधारभूत विद्यालय निमुवाटार जाने गरेका छन् ।”

कक्षा ३ पछि विद्यालय टाढा भएका कारण कतिपयले पढाइ छाड्ने गरेको उहाँले बताउनुभयो । स्कुलकी शिक्षिका सुष्मा रानामगरले प्रत्येक दिन स्कुलमा २० देखि २५ जना नखाई आउने गरेको बताउनुभयो । “एउटै घरका दुई–तीनजना पढ्न आउँछन्, एउटा घरमा खाना नपाक्दा धेरैले खान पाउँदैन, भोकभोकै विद्यालय आउँछन्”, उहाँले भन्नुभयो । कसैले अभिभावक नभएर त कसैले चामल छैन ढिडो रुचेन भन्ने गरेको उहाँले बताउनुभयो । कतिपय परिवारमा ढिलो पकाउने गरेका कारण पनि बालबालिका भोकै विद्यालय आउनुपरेको उहाँले बताउनुभयो । बालबालिकालाई १ बजेसम्म राख्न धौधौ हुने गरेको जानकारी दिँदै उहाँले पढाउने बेलामा पनि उनीहरूको ध्यान खानेकुरातर्फ जाने गरेको बताउनुभयो ।

“बालबालिकाले अघाउने खानेकुरा खोज्छन्, उनीहरूलाई सोधेरै खानेकुरा पकाउने गरेका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाधर रिमाल भौगोलिक विकटताका कारण एक डेढ घण्टासम्म हिँडेर चेपाङ बालबालिका विद्यालय पढ्न आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारसँगको सहकार्यमा चेपाङ बालबालिकालाई लक्षित गरेर आवासगृह निर्माण गरिरहेको जनाउँदै यो समस्या अन्त्य हुने बताउनुभयो ।

कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण बालबालिकाले समयमै पेटभरि खाएर स्कुल जान नपाएको बताउनुभयो । उहाँले सबै बालबालिकालाई पेटभरि खानेकुरा खुवाउन सबै विद्यालयलाई निर्देशन दिइएको बताउनुभयो । “सबै विद्यालयमा पुगेर आफैँ निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “चिउरा, चाउचाउ होइन, गाउँघरको जैविक खानेकुरा दिन भनेका छौँ ।” उहाँले आवासीय सुविधासहित विद्यालय स्थापना गर्नसके मात्र चेपाङ बालबालिकालाई राम्रो शिक्षा दिन सकिने बताउनुभयो ।

भिडिओ रिपोर्ट

प्रतिक्रिया

सम्बन्धित खवर